इटहरी । कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा ।
पाथीभरा मन्दिर हिन्दू, किराँत एवं बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण धार्मिक स्थल हो ।
यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३,७९४ मी.को उचाईमा अवस्थित छ ।
फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिने, यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम ‘पाथीभरा देवी’ भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।

ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ‘मुक्तुवुङ’ भनेर चिन्दछन । लिम्बूभाषामा ‘मुक्तु’को अर्थ शक्ति वा बल, ‘वुङ’को अर्थ बोट भन्ने जनाउँदछ ।
अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा मान्ने गर्दछन् ।
हिउँदयाम सुरुभएसँगै यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको ठूलो घुँइचो लाग्ने गर्दछ ।
आफ्नो मनोकांक्षा हुने अभिप्रायले पाथीभरा मन्दिरमा पूजाआजा गर्न नेपालका सबै क्षेत्र तथा भारतको आसाम, दार्जीलिङ र तेस्रो देशका पर्यटकहरु यहाँ आउने गर्दछन ।
उत्पति सम्बन्धि पौराणीक भनाई

पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै पौराणीक तथा स्थानिय भनाईहरु छन् । भनिन्छः– परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए ।
एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भै आफ्नो उत्पतिस्थल र आकृतिको बारेमा बताउँनुभयो । भेडा बलिसहित पूजा अर्चना गर्न निर्देशन दिनुभयो ।
गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी भेडाको बलि दिए । बलि दिए पछि, ती हराएका सबै भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे ।
अझ आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे भन्ने किम्बदन्ती रहेको छ ।
यहाँ पाथीभरा देवीलाई दैनिक सयौँको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन ।
स्वच्छ मनले मागेको कुरा पुरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ । पुरा पनि हुँदै आएको छ । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, चढाउने गर्दछन ।
हिमश्रृङ्खलाले घेरिएको प्राकृतिक सम्पदा

पाथीभरा देवीको मन्दिर पुगे पछि त्यहाँका प्राकृतिक सौन्र्दयले सबैलाई मनमोहक बनाइदिन्छ । पाथीभरालाई स्वागत गर्न बसेका हिमश्रृंखलाहरूको अलौकिक दृश्यले सम्मोहित भई स्वर्गीय आनन्दको अनुभूति गर्न सकिन्छ ।
कञ्चनजंघा, कुम्भकर्ण लगायतका हिमश्रृंखलाहरुले त्यहाँ पुग्ने जो कोहीलाई भावशुन्यतामा पुयाईदिन्छन् । तपाई आफै हराउन सक्नुहुन्छ ।
पाथीभराबाट कञ्चनजंघामा सूर्योदय र सूर्यास्तको अत्यन्तै सुमधुर सुन्दर मोहनीलाग्दो दृश्य हेर्न सक्नुहुन्छ । यो मोहनीरुपलाई आँखाभरी हेर्ने मात्रै होइन, तपाई क्यामरामा कैद गर्दै कोसेली बोकेर ल्याउन पनि सक्नुहुन्छ ।

पाथीभरा क्षेत्रबाट कञ्चनजंघा ८५८६ मि.,कञ्चनजंघा ८४८२ मि., कुम्भकर्ण (फक्ताङलुङ) ७७१० मि.,काङबाचेन ७९०३ मि.कञ्चनजंघा ८४७६ मि., मकालु ८४६३ मि.,लोत्से ८५१६ मि. र नोत्से ७८५५ मिटरका हिमश्रृंखलाहरु देख्न सक्नुहुन्छ । मौसम खुलेको अवस्थामा सबै हिमालहरु आँखै अगाडी देख्न सकिन्छ ।

यदि तपाई घुम्न,प्राकृतिक दृष्यपान गर्न रुचाउनुहुन्छ र तपाई धर्म प्रति आस्था, विश्वास राख्नुहुन्छ भने ताप्लेजुङको पाथीभरा मन्दिर सबैभन्दा उपयुक्त गन्तव्य हो । तपाई पनि आउनुहोस, एक पटक पाथीभरा देवीलाई दर्शन गर्दै मनमोहक दृष्यहरुको आनन्द लिनुहोस् ।


