इटहरी । अहिले सामाजिक सञ्जाल देखी घरका भित्तामा आकर्षक चित्रहरू टाँसिएको देख्न पाउँछौँ । हेर्दै आकर्षक र अद्भुत लाग्ने यस्ता चित्र कसले बनायो होला ? यस्ता चित्रकारलाई भेट्ने रहर सबैको मनमा जाग्न सक्छ ।
तर यस्ता आकर्षक चित्र कुनै मानिसले बनाएका होइन भन्दा तपाई अझ बढी आश्चर्यमा पर्न सक्नुहुन्छ ।
यस्ता आकर्षक चित्रहरू विकसित नयाँ प्रविधि AI मार्फत बनाइएका हुन । त्यो पनि शब्दको वर्णन गरेर त्यसलाई चित्रमा उतारिएको हो ।
अहिले विकास भएको AI प्रविधि मार्फत बोलेर वा बयान गरेका आधारमा यस्ता चित्र तयार गर्न सकिन्छ ।
यस्तै अद्भुत चित्र सृजना गर्न सक्ने AI प्रविधिको बारेमा यस सामाग्री मार्फत जानकारी दिनेछौँ ।
अहिले बजारमा विभिन्न AI विशेषता भएका प्रोग्रामहरू पाइन्छन् । त्यस्तै AI प्रविधिमा आधारित प्रोग्राम हो DALL–E.3
यो DALL–E.3 प्रोग्रामले कुनै पनि शब्दको वर्णन गरेका आधारमा वा उसलाई दिएको टेक्स्टका आधारमा चित्र वा आकृति तयार गर्दछ । DALL–E.3 हाल सम्मकै उच्च तहको इमेज वा चित्र सृजना गर्न सक्ने AI बनेको छ ।
DALL–E.3 ले मानिसको कल्पनालाई चित्र वा दृश्यमा परिवर्तन गरिदिन्छ । यो प्रविधि अहिले धेरै प्रयोग गरिने AI Tools मध्येमा पर्छ ।
DALL–E.3 लाई आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआई Open AI ले बजारमा ल्याएको हो । ओपन एआई (Open AI) त्यही कम्पनी हो, जसले च्याट जिपिटि (ChatGPT) बनाएको थियो ।
यो कम्पनीले च्याट जिपिटी(ChatGPT) बजारमा ल्याउनु भन्दा अगाडि नै आर्टिफिसियल इन्टेलिजेन्समा आधारित इमेज या आर्ट डिजाइन गर्न सक्ने DALL–E प्रोग्राम सन् २०२१ को जनवरी ५ मा बजारमा लन्च गरेको थियो । त्यस पछि सन् २०२२ को नोभेम्बरमा ओपन एआई कम्पनीले यस प्रोग्रामको भर्सन २ निकाल्यो । जसलाई (DALL–E.2) भनियो ।
अहिले यसैको थप परिष्कृत DALL–E.3 भर्सन बजारमा ल्याएको हो । यो अघिल्लो भर्सन भन्दा एडभान्स रहेको दाबी गरिएको छ ।
DALL–E.3 ले कसरी काम गर्छ ?

यो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम भएकाले मानिसले दिएका लिखित टेक्स्टको आधारमा एउटा यथार्थपरक इमेज वा आर्टको डिजाइन बनाउँछ ।
आफूलाई चाहिएको इमेज वा आर्टको विवरण टेक्स्ट बक्समा लेखेपछि यसले स्वतः चार वटा १०२४ x १०२४ रेजोल्युसनको चित्रहरू बनाइदिन्छ ।
जस्तो सुकै लामो, जटिल र विस्तृत लिखित टेक्स्ट निर्देशन दिए पनि त्यसका आधारमा उच्च गुणस्तरका वास्तविक चित्रहरू तयार गर्दछ ।
यसको मुख्य कार्य भनेको टेक्स्टलाई इमेज वा चित्रमा बदल्न सक्नु हो । कुनै पनि व्यक्तिले उसको मस्तिष्कमा भएको सृजनशीलतालाई वर्णन गरेका आधारमा चित्रमा उतार्न सक्छ । यस प्रोग्रामले विभिन्न भाषामा दिएका निर्देशनहरुलाई पनि प्रोसेस गर्न सक्छ ।
यस प्रोग्रामबाट जस्तोसुकै शैली, कोण वा परिवेश अनुसारका सृजना तयार गर्न सकिन्छ ।
के छन् विशेषता ? प्रयोगकर्तालाई के हुन्छ फाइदा ?
DALL–E.3 ले अलग–अलग स्टाइल र अलग–अलग कन्सेप्टलाई जोडेर नयाँ खालको इमेज बनाउन सक्छ ।
यसले एउटा क्यान्भासमा रहेको इमेजलाई थप बढाउन पनि सक्छ । उदाहरणको लागि ओरिजिनल क्यान्भासमा एउटा घर मात्र छ भने त्यस घरको छेउमा रुख वा बगैँचा थप्न मिल्छ । व्यक्तिले जसरी त्यो क्यान्भासलाई अगाडि बढाउन चाह्यो, त्यसरी अगाडि बढाउन सकिन्छ ।
DALL–E.3 प्रोग्राम मार्फत ओरिजिनल इमेजमा पनि थाहा नहुने गरी एडिटहरु गर्न सकिन्छ । DALL–E.3 बाट ओरिजिनल इमेजमा केही कुरा थप्न र हटाउन पनि मिल्छ ।
यस्तै, कुनै ओरिजिनल इमेजलाई प्रेरणा लिएर ओरिजिनल भन्दा फरक र त्यो भन्दा राम्रो, आकर्षक इमेज वा आर्ट तयार गर्न सक्छ ।
DALL–E.3ले यथार्थपरक चित्रहरू बनाउन सक्ने भएकाले प्रयोगकर्तालाई फाइदा छ । यस मार्फत बनाएका चित्रको गुणस्तर पनि उच्च तहको हुँदा प्रयोगकर्ताले आफूलाई चाहिएको अवस्थामा प्रयोग गर्न सक्छन् ।
DALL–E.3को रेजोल्युसन पनि अन्यको भन्दा चार गुना बढी रहेको छ । क्याप्सन म्याचिङ र फोटोरियलिजमको लागि पनि प्रयोगकर्ताहरूले रुचाएका छन् ।
विभिन्न कलाकार तथा डिजाइनरहरूले आफ्ना सृजना तयार गर्न DALL–E.3 को प्रयोग गर्ने गरेका छन् ।
इन्जिनियर तथा कुनै आर्किटेक्चरहरूले पनि यो टुल्सको प्रयोग गरी आफ्नो कामलाई थप सहज बनाएका छन् ।
यो प्रोग्राम परम्परागत चित्रकला वा फोटोग्राफीको तुलनामा छिटो र कम खर्चिलो पनि रहेको छ ।
व्यवसायीक रूपमा वेवपेज डिजाइन, अनलाइन विज्ञापन निर्माण,मार्केटिङ, गेमिङ र अन्य क्षेत्रमा DALL–E.3 प्रोग्रामको प्रयोग हुने गरेको छ ।

के के छन् चुनौती ?
यसको मुख्य चुनौती भनेको बनाइएका चित्रहरूको कानुनी अधिकारको विषय हो ।
तयार भएका तस्बिर वा चित्रमा कसको स्वामित्व हुने वा कसले कपिराईट दाबी गर्ने विषयमा चुनौती देखिएको छ ।
बनाइएका नक्कली तस्बिर वा चित्रहरूको जोखिम पनि उत्तिकै रहेको छ । यसको गुणस्तर कायम गर्नु पनि उत्तिकै चुनौतीको विषय बनेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स भएका कारण यो भन्दा थप विशेषता भएका अन्य प्रविधिको विकासले यो प्रविधि ओझेलमा पर्न सक्ने चुनौती भविष्यमा हुन सक्छ ।
अर्को महत्त्वपूर्ण पक्ष, ए एआईले मानिसको कल्पनाशीलता वा मानवीय भावनात्मक गहिराइलाई चित्रमा कैद गर्न सक्दैन भन्ने तर्क रहेको छ ।
फोटोग्राफीमा पारेको प्रभाव

DALL–E.3 प्रोग्रामले फोटोग्राफीको क्षेत्रमा ठुलो परिवर्तन ल्याएको छ । फोटोग्राफी पेशलाई गम्भीर सङ्कट पैदा गरेको छ ।
मानिसले गर्ने काम ए आइले गरिदिए पछि पेसाबाट विमुख हुनुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ । विश्व भरी नै फोटोग्राफी पेसाकर्मीहरू यो कुराले चिन्तित छन् ।
फोटोग्राफीले तयार गर्न असम्भव मानिएका चित्रहरू ए आइ मार्फत तयार गर्न सक्षम भएको तर्क पनि गर्ने गरिएको छ ।
तर जस्तो सुकै प्रविधि आए पनि मानिसको भावनाको गहिराई प्रविधिले व्यक्त गर्न नसक्ने भएकाले फोटोग्राफी सधैँ चलिरहन्छ भन्ने तर्कले फोटोग्राफरहरूलाई खुसी पनि दिएको छ ।
अन्त्यमा, एआई प्रविधिले नयाँ सम्भावनाहरू पनि खुलेको छ । प्रविधिको विकास क्रममा नयाँ नयाँ प्रोग्रामहरू त पक्कै आउँछन् नै । तर अहिले DALL–E.3 ले राम्रै प्रभाव पारेको छ । भविष्यमा थप विकास र परिष्कृत रूपमा आउने अपेक्षा गर्न सकिन्छ ।
