संसारकै होचो अरुण उपत्यका । समुन्द्र सतहबाट ४७५ मिटरको उचाइमा रहेको अरुण उपत्यका जैविक विविधताले भरिपूर्ण छ । संखुवासभा जिल्लामा पर्ने अरुण उपत्यका अरुण नदीको किनारमा अवस्थित छ । अरुण उपत्यकामा रहेको तुम्लिङ्टार बजारबाट उत्तर पश्चिम लागेपछि प्रसिद्ध धार्मिक स्थल मनाकामना पुग्न सकिन्छ ।
मनकामना मन्दिर प्रसिद्ध शक्ति पिठ मध्येको एक हो । मनकामना मन्दिरलाई सतीदेवीको अंग पतनभएको स्थानको रुपमा लिइन्छ । सत्ययुगमा सतीदेवीले देह त्याग गरेपछि महादेव विक्षिप्तभइ उनको मृत शरिर बोकेर हिडेको र यहाँ आएपछि (मन) मुटु पतन भएको किवंदन्तीहरु सुन्न पाइन्छ ।
महादेवले सतीदेवीको मृत शरिर बोकेर हिड्दा बिभिन्न स्थानमा अंगहरु पतन हुन थाले । धरानको दन्तकालीमा दाँत, संखुवासभाको चैनपुरमा आँखा र अरुण उपत्यकाको तुम्लिङटारमा पुगेपछि मन पतन भएको जन विश्वास छ ।
मन पतन भएको स्थानमा देवीको उत्पती भएको भन्दै यहाँ आस्थाका साथ पुजा आरधना गर्ने गरिन्छ ।

कसै कसैले मनकामनामा सतीदेवीको मस्तिस्क पतन भएको भनेर समेत भन्ने गर्छन् । परापूर्व कालदेखि चलिआएको जनश्रुती र किंदन्तीका आधारमा देवीको उत्पत्ती भएको स्थानको रुपमा विश्वास गर्दै यहाँ पुजा आरधना हुने गर्दछ ।
मनकामना पुगेर देवीको पूजा आरधना गरे मनले चिताएको मनोकांक्षा पुरा हुने भएकाले यस मन्दिरको नाम नै मनोकामना रहन गएको धार्मिक विश्वास छ ।
दैवीशक्ती रहेको जनविश्वासका आधारमा परापूर्वकादेखि मनकामनामा नेपालका विभिन्न जिल्लाकाका साथै भारत, भुटान लगायतका देशबाट पनि भक्तजनहरु पूग्ने गरको छन् ।
अरुण नदीको किनारमै देवीको उत्पत्ती भएको विश्वास छ । पछि नदीमा आइरहने बाढीका कारण देवीको नित्यपुजा गर्न समस्या भएपछि स्थानीयले किनार भन्दा सय मिटर माथि देवीको प्राण प्रतिस्थापन गरेका छन् ।
अहिले यहाँ मन्दिर निर्माण गरिएको छ ।
माता मनकामना उत्पती भएको ठाउँमा बासुकी नागले समेत तपस्या गरेकोले बासुकी नागको प्रतिमा पनि देख्न सकिन्छ । यहाँ काली भैरबीको पनि पुजा गर्ने गरिन्छ । मनकामना मन्दिरको ईशान कोणमा मनकामेश्वर महादेवको मन्दिर रहेको छ ।
पछिल्लो समय यहाँका स्थानीयको पहलमा दुर्गा मन्दिर निर्माण गरिएको छ । मुक्तिनाथबाट ल्याईएको शालिग्राम राखेर मुक्तिनाथ मन्दिर पनि स्थापना गरिएको छ । साथैमा गणेशको मन्दिर बनाइएको छ ।
कात्तिक महिनाको ठूलो एकादशीको अघिल्लो रात यहाँ ठुलो मेला लाग्दछ । मेला भर्न कोशी प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।

अरुण नदीमा नुहाएर यहाँको पवित्र जल मनकामना मन्दिरमा चढाउनेले पुण्य प्राप्ती भई आफ्नो मनको ईच्छा पुरा हुने विश्वास गरिन्छ ।
मनकामनामा देह त्याग गरे मोक्षपाइने जनविश्वस छ । यहि जनविश्वासका कारण विभिन्न जिल्लाबाट जेष्ठ नागरिकहरु यहाँ आएर बस्ने गरेका छन् । उनीहरु भजन किर्तन पूजा पाठ गरेर उनीहरुको दीनाचार्य वित्ने गरेको छ ।
मनकानमामा गुरुकुल समेत रहेको छ । गुरुकुलमा विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरु अध्ययन गर्दछन् ।
अध्ययन गर्नका लागि नदी किनारको यो स्थान शान्त छ । प्राकृतिक रुपमा पनि उस्तै सुन्दर छ ।

अहिले सरकारी पक्षबाट यस धार्मिक क्षेत्रको वृद्धि र विकासका काम सुरु भएका छन् । खाँदबारी नगरपालिका, नेपाल सरकारको पर्यटन बोर्ड र प्रदेश सरकारको लागत साझेदारीमा मनकामना मन्दिरको वृहतर विकासको गुरुयोजना बनाएको छ ।
खाँदबारी नगरपालिकाले वृहतर मनकामना विकास ऐन २०७५ र नियमावली समेत पास गरेर कार्यान्वायनमा लगेको छ । सरकारी पक्षबाट मनकामनामा जेष्ठ नागरिक भवन निर्माण भएको छ ।
अरुण नदीको बाढी रोक्नका लागि तटबन्ध निर्माणको काम सम्पन्न भएको छ । मन्दिरमा जाने भक्तालुहरुलाई नदीमा नुहाउन सहज होस् भनेर सिँढी, श्मशान घाट बनाउने योजना रहेको छ ।
